ठाकुरले एमसीसीबारे भने- ‘म सम्झौताको पक्षमा छु’
काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू एमसीसी सम्झौताको पक्षमा रहेको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सुरुमै उनले भने, ‘म यो सम्झौताको पक्षमा छु । हाम्रो लोकतान्त्रिक समाजवादी पार्टी यो सम्झौताको पक्षमा छ ।’
उनले अमेरिकाले नेपाललाई अहिलेमात्रै नभएर विगत सात दशकदेखि विकास साझेदारको रुपमा सहयोग गर्दै आएको बताए । ‘अमेरिकाले नेपाललाई सात दशकभन्दा बढी समयदेखि विकास साझेदारको रुपमा सहयोग गर्दै आएको छ । राष्ट्रिय हितको या राष्ट्रिय जीवनको हरेक क्षेत्रमा उसको केही न केही सहयोग देखिन्छ,’ अध्यक्ष ठाकुरले भने, ‘नेपालमा आर्थिक वृद्धिदर, गरिबी कम गर्ने उद्देश्य लिएर यो अनुदान आएको छ, जहाँसम्म यसको खर्च हुने क्षेत्र पनि निर्धारित छ, यो नेपालले नै निर्धारण गरेर आएको अनुदान हो ।’
अध्यक्ष ठाकुरले एमसीसीका कारण उत्पत्ति हुने बौद्धिक सम्पत्तिहरू समेत नेपालकै हुने उल्लेख रहेको बताए । ‘यसमा बौद्धिक सम्पत्ति जो उत्पत्ति हुने हो, त्यो पनि नेपालले नै पाउने हो । यसको साथै यो सम्झौता नेपालमा त्यसै आएको होइन, यसमा नेपालले त्यसको मापदण्ड पूरा गरेको राष्ट्र भएको हिसाबले छनौटमा परेको हो, यसमा धेरै विभाजित हुनु आवश्यक छैन,’ उनले भने ।