सर्वोच्च परिसरबाट दंगा प्रहरी हटाउन कानून व्यवसायीको माग

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरबाट दंगा प्रहरी हटाउन माग गरेका छन् । बिहीबारको प्रदर्शनमा सम्बोधन गर्दै कानून व्यवसायीहरुले सो माग गरेका हुन् ।
दंगा प्रहरी नहटाए गोली खान तयार हुने तर आन्दोलन नरोकिने चेतावनी कानून व्यवसायीहरुले दिएका छन् ।
कानून व्यवसायीहरुको प्रदर्शन रोक्न परिचालित टोलीमा बिहीबार एसएलआर हतियार बोकेका प्रहरीसमेत देखिएका छन् । शान्तिपूर्ण प्रदर्शन दबाउन खोजिएको भन्दै उनीहरुले हतियारसहितका प्रहरी परिचालन गरिएकोमा विरोध जनाएका छन् ।
आजको प्रदर्शनमा प्रहरी र कानून व्यवसायीहरुबीच धकेलाधकेल हुँदा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् । प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने वैकल्पिक गेटसम्म पुग्न खोज्ने कानून व्यवसायीहरुलाई रोक्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा उनीहरु घाइते भएका हुन् ।
प्रहरीले उनीहरुलाई मूल गेट अगाडि नै रोकेको छ । वैकल्पिक गेटसम्म पुग्ने प्रयास सफल हुन नसकेपछि उनीहरु मूल गेटबाटै फर्किएका छन् । सर्वोच्च अदालत परिसरभित्र आजको विरोध प्रदर्शन सकिएको छ ।
अनलाइन खबर बाट साभार