पदभार संगै उपमहानगरपालिकाको ८ निर्णय
नेपालगन्ज, जेष्ठ ८
नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले सपथ लिदैं आईतवार कार्यभार सम्हालेका छन । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले सपथ गराउनुभएको हो । सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई र २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । कार्यभार सम्हाले लगत्तै उहाँले केही महत्वपूर्ण निर्णय समेत गरेका छन् । निर्णयहरुमा सामाजिक भत्ता वडा कार्यालयबाटै बैकिंग प्रणालीमार्फत् उपलब्ध गराउने, अपाङ्गता मैत्री कार्यालय भवन बनाउने, दैनिकरुपमा निस्कने फोहरलाई धरधनी वा व्यवसायी आफैले फोहोरको वर्गीकरण गरी नगरपालिकाबाट खटिने सरसफाईकर्मीलाई उपलब्ध गराउन उत्पे्रेरित गर्ने, प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय भाषामा पाठ्यक्रम निर्माण गरि कार्यान्वयनमा ल्याइने र नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाई कार्यलाई तत्कालै कार्यान्वयनमा ल्याउने, पशु बिमालाई जोड दिने उल्लेख गरिएको छ । कार्यक्रममा बाँके क्षेत्र नम्बर–२ का प्रतिनिधी सभा सदस्य मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश सभा सदस्य मोहम्मद याकुव अन्सारी, नवनिर्वाचित नगर प्रमुख विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, राप्रपाका महामन्त्री एवम निर्वतमान नगर प्रमुख डाक्टर धवलशमशेर राणा, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल लगायतले धारणा राख्नु भएको थियो ।