बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनको प्रर्वद्धनका लागि साझा प्रतिवद्धता

नेपालगन्ज,१२ भदौ-बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनको प्रर्वद्धनका लागि बाँकेमा साझा प्रतिवद्धता गरिएको छ । राजनीतिक दल, जनप्रतिनिधि, पर्यटन व्यवसायी एवं सरोकारवाला अन्य पक्षका अगुवाहरुले जिल्लाको पर्यटन विकासका लागि निकुञ्ज मार्फत हुने पर्यापर्यटनको प्रर्वधनको आवश्यकता महसुस गर्दै त्यसका लागि साझा प्रतिवद्धता व्यक्त गरिएको हो ।
शनिवार नेपालगन्जमा यसै सन्दर्भमा आयोजित एक बृहद अन्तरक्रियामा बोल्ने बक्ताहरुले बाँकेको पर्यटन विकासको सम्भावना असिमित रहेको उल्लेख गरेका छन्। नेपालगन्जका नगर प्रमुख धवल शम्सेर राणा, कोहलपुर नगरप्रमुख लुटबहादुर रावत, बैजनाथका मानबहादुर रुचाल, राप्तीसोनारीका लाहुराम थारु, नेपाल पर्यटन बोर्डका सिइओ धनन्जय रेग्मी लगायतका जनप्रतिनिधिले पर्यटन विकासका लागि पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउँदै पर्यटन विकासका लागि सक्रिय सरोकारवाला निकायका अगुवाहरुलाई उत्साहित बनाएका थिए । पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको निकुञ्जका प्रमुख श्याम शाह बताउँछन् ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या वृद्धि गरी टाइगर जोनका रूपमा विकास गर्न जंगली क्षेत्र र मध्यवर्ती क्षेत्रमा विभिन्न प्याकेज बनाएर पर्यटक आकर्षित गर्न थालिएको हो । निकुञ्ज क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण बढाउन होमस्टे, राप्ती नदीमा बोटिङ, जंगल ड्राइभ, पैदल मार्ग, हात्ती सफारीलगायत छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । निकुञ्जले पर्याप्त पूर्वाधारको व्यवस्था गरी पर्यटक भित्र्याउन थालिएको छ । निकुञ्जको अगैया क्षेत्रको राप्ती नदीमा बोटिङ, सूर्यास्त र न्याफटिङको व्यवस्थाका लागि अध्ययन भएका छन् । त्यसका लागि स्थानीयलाई विभिन्न सीपमूलक तालिम सञ्चालन सुरु गरिएको छ । त्यस्तै ओभरी नजिकैका क्षेत्रमा जंगल ड्राइभ र पैदल यात्राको प्याकेज निर्माण गरिएको छ ।




