नेपाल लाई एतिहासिक सफलता

काठमाडौं– साफ फुटबलमा नेपालले ऐतिहासिक सफलता पाएको छ ।
माल्दिभ्समा बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरी रोकेपछि नेपालले इतिहास रचेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।
सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपाल फाइनल पुगेको यो पहिलो पल्ट हो ।
बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
८८ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८६ औं मिनेटमा अन्जनलाई बंगलादेशी खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। त्यसमा गोल गर्दै अन्जनले नेपाललाई ऐतिहासिक सफलता दिलाएका हुन् ।
खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई रातो कार्ड देखाइएको थियो ।