एमसीसीमा व्याख्यात्मक टिप्पणीको अर्थ छैन : सुवाल l
काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीमा व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ नभएको दाबी गरेका छन् । उनले एमसीसी आर्थिक वृद्धि र गरिबी अन्त्यको लागि आएको परियोजना हो भनेर झुटो प्रचार गरिएको बताए ।
‘एमसीसी आर्थिक वृद्धि र गरिबी अन्त्य झुटो हो, यसमाथि व्याख्यात्मक टिप्पणी गर्नुको कुनै अर्थ छैन, एमसीसीले नै यस्तो व्याख्यात्मक टिप्पणी अस्वीकार गर्ने घोषणा गरिसकेको छ,’ प्रतिनिधिसभाको बैठकमा सांसद सुवालले भने ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सित्तैमा आएको अनुदान लिनुपर्ने बताएको भन्दै सित्तैमा आएको भन्दैमा विष पिउन नहुने बताए । ‘प्रधानमन्त्रीज्यूले सित्तैमा आएको अनुदान हो, लिनुपर्छ भन्नुभएको छ । तर, सित्तैमा आएको बिष पिए के हुन्छ ? म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु, ’ उनले भने ।
उनले एमसीसी नेपाललाई देखाएर भारत र अमेरिकाबीचको सम्झौता भएको बताए । ‘यो सम्झौतामा भारतको सहमति हुनुपर्ने र गोरखपुरसम्म विद्युत प्रसारण निर्माण गरेर सिंगापुरसम्म विद्युत पुर्याउने योजना छ, जुन नेपालको हितमा छैन । यो सम्झौताले नेपाललाई अमेरिकी नवउपनिवेशवाद र भारतको एउटा प्रदेशको रुपमा पुर्याउँछ,’ उनले भने ।
उनले एमसीसी अधिकारीहरूले नै एमसीसी सैन्य मोर्चा स्वीकार गरिसकेको भन्दै त्यसबारे भ्रममा बस्न आवश्यक नभएको बताए ।
उनले एमसीसीमा गुलियो पोतिएको भन्दै त्यसको भ्रममा नपर्न समेत आग्रह गरे ।