अर्थतन्त्रराजनीति

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै

काठमाडौं । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् ।

आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च पाउने छैन ।

गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

कार्यपालिका अन्तर्गत प्रधानमन्त्रीदेखि कर्मचारीले भदौ महिनाको तलब कुरेर बसेका छन् ।

भोलि (असोज १ गते) नै अधिकांश कर्मचारीको खातामा तलबभत्ता जम्मा हुनुपर्ने हो । तर, कर्मचारीहरूले असोज ४ गतेसम्म तलबभत्ता पाउने छैनन् ।

संघीय सञ्चित कोषमाथि व्ययभार हुने विषयसँग सम्बन्धित खर्चका लागि भने संसदको अनुमति आवश्यक नपर्ने संविधानको धारा ११८ मा उल्लेख छ ।

यो व्यवस्थाअनुसार बजेट पारित नभएपनि या अहिले खर्च रोकिँदा पनि राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा रोकिने छैन ।

प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्यलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम पनि कोषबाट झिक्न मिल्छ ।(सगरमाथा टिभी बाट साभार)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button