राजनीति

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै

लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।  गठबन्धन दलहरुले मन्त्रीको नाम टुंग्याएपछि आज दिउँसो मन्त्रिपरिषद विस्तार हुन लागेको हो । दिउँसो ३ बजे सपथ ग्रहण कार्यकम राखिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।

नेपाली काँग्रेसले मन्त्रीको नाम टुंग्याउन नसक्दा मन्त्रिमण्डल विस्तारमा ढिलाई भएको थियो  । नेपाली काँग्रेसले वन, वातावरण तथा भूसंरक्षणमा सुरेन्द्र हमाल, शिक्षा विज्ञान युवा तथा खेलकुदमा वसिउद्दिन खाँ र ऊर्जा, जलस्रोत तथा सिँचाइमा वीरबहादुर रानालाई मन्त्री बनाउने निर्णय गरेको छ ।

राज्यमन्त्रीमा कपिलवस्तुकी रिना नेपाल विक र अर्जुनकुमार श्रेष्ठलाई पठाउने निर्णय भएको काँग्रेसका  प्रमुख सचेतक फखरुद्दिन खानले बताए । यसअघि साउन २८ गते काँग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी  पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने भएका छन् भने सोही पार्टीबाट दाङकी विमला खत्री वली राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनिसकेका छन् । माओवादीले योपटक आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले पाएको मन्त्रालयमा नेकपा एकीकृत समाजवादीबाट रमा घर्ती मन्त्री बन्ने माओवादी प्रमुख सचेतक तुलाराम घर्तीले बताए । रमा लुम्बिनीमा नेकपा एकीकृतको तर्फबाट एकमात्र सांसद हुन् । साउन २८ गते चारदलीय गठबन्धन सरकार बनेपनि दलहरुबीच मन्त्रालय र मन्त्रीको भागबण्डामा कुरा नमिल्दा लामो समयदेखि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button