राजनीति
राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, राजाको भलो होस् : कमल थापा
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल थापाले चुनावमा आफू पराजित भएको स्वीकार गर्नु भएको छ ।
आइतवार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएसँगै उहाँले हार स्वीकार गर्नु भएको हो ।
सामाजिक सञ्जालमार्फत थापाले हार स्वीकार गर्दै लिङ्देनलाई बधाई तथा शुभकामना दिनु भएको छ ।
उहाँले लेख्नु भएको छ : ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’
यस्तै, उहाँले सिङ्गो देश गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको भन्दै राजनीतिक रुपमा आफूलाई समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् भन्नुभएको छ ।