यौनिक तथा लैंङ्गिक अल्पसंख्यक समुदाय प्रती गम्भीर हुन जोड

नेपालगञ्ज । यौनिक तथा लैंङ्गिक अल्पसंख्यक व्यक्तिहरुको सवालमा राज्यले उचित नीति ल्याउन नसकेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
बिहीबार नेपालगञ्जमा भएको सरोकारवालाबीचको छलफलमा बोल्ने वक्ताहरुले यौनिक तथा लैंङ्गिक अल्पसंख्यक व्यक्तिहरुको सवालमा स्थानीय तह सकारात्मक हुन नसेकेको औल्याइएको हो ।
स्थानीय तहमा यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुको बारेमा नीति निर्माण गर्न, बजेट बिनियोजन गर्ने र कार्यान्वयन गर्न, सम्मानपुर्वक बाच्ने वातावरण निर्माण गर्न र मौलिक हक कार्यान्वयन गरि मानव अधिकारको प्रवद्र्धन गर्ने उद्देश्यका साथ छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाहले पछिल्लो समय यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुका सवालमा परिवर्तन देखिएको बताउनुभयो ।
उहाँले अझै पनि समावेशी सहभागिता एव उपस्थितिको कुरामा समाजको नेतृत्वकर्ताहरुले सहज स्वीकार्न नसकेको धारणा राख्नुभयो ।
पश्चिम तारा नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै यौनिक तथा लैंङ्गिक अल्पसंख्यकहरुको महासंघ नेपालका कार्यक्रम संयोजक सिमरन लोप्चनले यौनिक तथा लैंङ्गिक अल्पसंख्यकलाई रोजगारको समस्या बिद्यमान रहेको बताउनुभयो ।
सरकारले सबैलाई समान तवरले हेरिनुपर्ने र समान अवसर दिनुपर्ने बताउनुभयो । कार्यक्रममा पश्चिम तारा नेपाल बाँकेका कार्यक्रम संयोजक परिना चौधरीले कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।